लिस्बनमा कन्सुलर सम्बन्धी सेवाहरुको निम्ती एनआरएनले सहजीकरण गर्ने ।

Published On: Sunday, June 3, 2012 | Source: NRNA PORTUGAL

निर्दोष के सी लिस्बन, १८ मे-पोर्तोमा रहेकी नेपालकी अवैतनिक कन्सुलर डा. मारिया तेरेजाद्धारा अख्तियार प्राप्त गरि लिस्बनमा कन्सुलर सम्बन्धी कार्य गर्दै आएका डा. यदुआर्दो लेमोसको हस्ताक्षरबाट हुने गरेका कन्सुलर सम्बन्धी कार्यहरुलाई पोर्चुगिज सरकारले मान्यता नदिए पश्चात अब आइन्दा अनुवाद तथा प्रमाणिकरणको निमित्त आप्रवासी नेपालीहरुका कागजातहरु पोर्तो स्थित कन्सुलर कार्यालयमा नै पठाउनु पर्ने भएको छ ।
कन्सुलर डा. मारिया तेरेजाकी कार्यालय सचिव आन्द्राइयाबाट प्राप्त जानकारी अनुसार पोर्चुगिस सरकारको विदेश मन्त्रालयबाट नेपालीहरुका कागजात प्रमाणिकरण गर्न नेपाल सरकारबाट नियुक्त कन्सुलरको हस्ताक्षर नै आवश्यक हुने पत्र प्राप्त भएकोले लिस्बन, साल्दाना स्थित कार्यालयबाट सो सम्बन्धी कामहरु नहुने भएको हो ।

विगत दुई वर्ष देखि पोर्तो कन्सुलर कार्यालयको भन्दा अपेक्षाकृत बढी शुल्क तिरेर भएपनि लिस्बनमा नै अनुवाद तथा प्रमाणिकरण गराउदै आएका नेपालीहरुलाई कन्सुलर सम्बन्धी सेवाको निम्ती पोर्तोसम्म जानुपर्ने भएबाट पर्ने असुविधाको सहजीकरणको निम्ती छलफल गर्न गैर आवासिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङको नेतृत्वमा एक प्रतिनिधी मण्डल हालै पोर्तो स्थित कन्सुलर कार्यालयमा गई कन्सुलर डा. तेरेजा तथा कन्सुलरका कर्मचारीहरुसंग परामर्श गरि समस्या समाधानार्थ एक समझदारी गरेको छ ।

 कन्सुलरसंगको छलफलबाट निस्केको निष्कर्ष अनुसार अनुवाद तथा प्रमाणिकरण गराउनु पर्ने कागजातहरु हप्ताको प्रत्येक शुक्रबार, शनिवार र आईतबार दिँउसो ३ बजे देखि ६ बजेसम्म एनआरएनको कार्यालयमा बुझाउने र त्यसरी संकलन भएका कागजातहरु सोमबार आवश्यक कार्यार्थ पोर्तो स्थित कन्सुलेटमा पठाई प्रत्येक शुक्रबार एनआरएनको कार्यालयबाट अनुवादित र प्रमाणित कागजातहरु सम्बन्धीत व्यक्तिलाई बुझाइने व्यवस्था गरिएको जानकारी एनआरएन अध्यक्ष गुरुङले दिनुभएको छ । यस अतिरिक्त कन्सुलेटबाट महिनाको दुई पटक सम्बन्धीत कर्मचारी लिस्बन स्थित एनआरएनको कार्यालयमा आई आवश्यक सहयोग पुर्याउने व्यवस्था समेत भएको छ ।

 हजारौको संख्यामा नेपालीहरुको बसोवास भएको राजधानी शहर लिस्बनमा अवैतनिक कन्सुलर नियुक्तीको निम्ती जोडदार माग भईरहेको सन्दर्भमा नेपाल सरकारबाट सो व्यवस्था नभएसम्मको निम्ती एनआरएनद्धारा यो वैकल्पीक व्यवस्था गरिएकोले आफुलाई आवश्यक पर्ने मिति भन्दा न्युनतम एक हप्ता अगाडी नै प्रमाणिकरणको निम्ती कागजात बुझाउन अनुरोध गर्दै अपर्झट प्रमाणिकरण गर्नु पर्नेको हकमा भने पोर्तो स्थित कन्सुलेटको कार्यालय (Largo dos Loios no: 80, 4050-338, Porto) मा कार्यालय समय भित्र आफै गएमा सोही दिन प्रमाणिकरण गर्न सक्ने व्यवस्था गरिएकोले कार्यालय सचिव आन्द्राइयाको सम्पर्क नं: ९३८७०६०३८ मा सम्पर्क गरि जान समेत एनआरएनले सुचित गरेको छ।

कागजात अनुवाद, प्रमाणिकरण सम्बन्धी अन्य विस्तृत जानकारी आवश्यक परेमा एनआरएनको कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।