एनआरएन पोर्चुगलको सांस्कृतिक कार्यक्रम स्थगित

Published On: Tuesday, July 3, 2012 | Source: NRNA PORTUGAL

खेमराज रानाभाट ‘चिन्तन’ लिस्बोन, २ जुलाई- गैर आवासीय नेपाली संघ पोर्चुगलको वार्षिक साधारण सभाको दिनका लागि तयारी गरिएको सास्कृतिक कार्यक्रम स्थगित भएको छ । नेपालका चर्चित लोक तथा आधुनिक गायक-गायिका राजु परियार, एस कुमार र मञ्जु महतका साथ स्थानीय कलाकारहरु सहितको सांस्कृतिक कार्यक्रम गरिने तयारि भएकोमा कलाकारले भिषा नपाएका कारण स्थगित भएको हो । यसबाट पोर्चुगलवासी नेपालीहरुको लामो समयदेखि प्रतिक्षा गरिएको चर्चित लोकदोहोरी गायक राजु परियारको प्रत्यक्ष लोक दोहोरी गीत सुन्ने र नाच्ने धोको यस पटक पनि पुरा नहुने भएको छ।  संघको वार्षिक साधारण सभा यही आउँदो ८ जुलाईको दिन मार्केस पोम्बालस्थित होटल फेनिक्समा हुन गई रहेको छ । साधारण सभाका लागि सम्पूर्ण तयारी पुरा भई सकेको कुरा संघका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो।  त्यसै गरी ७ जुलाईका दिन पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठ पोर्चुगल सरकारको परराष्ट्र मन्त्रालयको उच्च पदस्त अधिकारी र अन्य कुटनैतिक व्यक्तित्वहरुसंग भेटघाटका लागि पेरिसबाट लिस्बोन आउंदै हुनु हुन्छ। महामहिम राजदुतको लिस्बोन भ्रमणको अवसरमा नेपाल र पोर्चुगलबीच उच्चस्तरको कुटनैतिक सम्बन्ध विस्तार, नेपालीले पोर्चुगलमा भाग्नु परेका समस्याहरुको कुटनैतिक तवरबाट समाधानका निम्ति सम्बन्धित निकायमा पहल गर्नुका साथै नेपालको पर्यटन र व्यापार प्रवर्द्धनका लागि पोर्चुगीस-नेपाली व्यापारी,पर्यटन व्यवसायी र पत्रकारहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको राजदुतावास स्रोतले बताएको छ । यसका साथ-साथै राजदुत श्रेष्ठले ८ जुलाईमा हुने संघको साधारण सभाको प्रमुख आतिथ्यता पनि गर्दै हुनु हुन्छ। राजदुत श्रेष्ठको पोर्चुगल बसाईको अवधिमा नेपाली राजदुतावास पेरिसबाट हुने विभिन्न कागजात प्रमाणितकरण,पासपोर्ट बनाउने र अन्य कामहरुका लागि एन।आर।एन।पोर्चुगलको कार्यालयमा सम्पर्क गर्नु हुनु सम्पूर्ण पोर्चुगलवासी नेपालीलाई संघले अनुरोध गरेको छ ।